‘नेपाल’ नै एउटा ब्राण्ड हो, अब ब्रान्डको समस्या छैनः पशुपतिदेव पाण्डे

उनका अनुसार नेपालका स्थानीय नामहरू नै अन्तर्राष्ट्रिय बजारमा ब्राण्डका रूपमा स्थापित हुनसक्ने सम्भावना रहेका छन् ।

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल आफैंमा एक बलियो ‘ब्राण्ड’ भएको उल्लेख गर्दै त्यसको प्रभावकारी ब्राण्डिङ गर्न आवश्यक रहेको बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले नेपालमा ब्राण्डको अभाव नभएको स्पष्ट पारे । उनका अनुसार नेपालका स्थानीय नामहरू नै अन्तर्राष्ट्रिय बजारमा ब्राण्डका रूपमा स्थापित हुनसक्ने सम्भावना रहेका छन् ।

उनले बाजुरा, सोनाम, लिखुखोला वा मुक्तिनाथ जस्ता नामहरू आफैंमा ब्राण्ड बन्न सक्ने उदाहरण दिँदै नेपालको भौगोलिक, सांस्कृतिक र प्राकृतिक विविधताले देशलाई नै एउटा विशिष्ट पहिचान दिएको बताए । 

अध्यक्ष पाण्डेले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन र स्थायी पहिचान स्थापित गर्न बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए। तयारी पोशाक लगायतका क्षेत्रमा बढ्दो ‘कपी’ गर्ने प्रवृत्तिले मौलिकता कमजोर बनाइरहेको भन्दै उनले यस्ता अभ्यासलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालमा उपलब्ध ढाका, अल्लो, गाँजा, जडीबुटी, यार्सागुम्बा र शिलाजित जस्ता बहुमूल्य प्राकृतिक स्रोतहरूको उपयोगमा कानुनी जटिलता रहेको उल्लेख गर्दै ती समस्याहरू तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे ।

साथै, हाल उद्योग विभागमार्फत हुँदै आएका बौद्धिक सम्पत्ति सम्बन्धी कामहरू पर्याप्त नभएको भन्दै उनले छुट्टै ‘बौद्धिक सम्पत्ति विभाग’ स्थापना गर्न सरकारसँग माग गरे ।