बुटवल अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइयो
बुटवल उपमहानगरपालिका-४ स्थित उच्च अदालत तुलसीपुर,बुटवल इजलासको स्वामित्वमा रहेका घरटहरामाथि आइतबार डोजर चलाइएको हो ।
काठमाडौं । बुटवलमा सरकारी जग्गा अतिक्रमण गरी घर टहरा बनाएका संरचनामाथि डोजर चलाइएको छ । बुटवल उपमहानगरपालिका-४ स्थित उच्च अदालत तुलसीपुर,बुटवल इजलासको स्वामित्वमा रहेका घरटहरामाथि आइतबार डोजर चलाइएको हो । नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाइएको हो । त्यस क्षेत्रको सार्वजनिक जग्गा मिचेर वर्षौदेखि भोगाधिकार गर्दै आइरहेका व्यक्तिहरुलाई शनिबार राति बुटवल उपमहानगरपालिकाले माइकिङ गरेर घरटहरा खाली गर्न सार्वजनिक सूचना आह्वान गरेको थियो ।
बिहानैदेखि त्यहाँ बनेका आधा दर्जन टहराधनीले सामान अन्यत्र सार्न थालेका थिए । यहाँ करिब दुई दर्जन घर-टहरा छन् । उक्त सरकारी जग्गामा बसेको वस्ती हटाउन २०७० सालमै स्थानीय दैनिक पत्रिकामा सूचना जारी गरिएको थियो । तर बस्ती हटेको थिएन ।