सालपा विकास बैंक करिब ३२ लाख नोक्सानीमा, निष्क्रिय कर्जा ३.३५ प्रतिशतमा झर्यो

विवरण अनुसार बैंक ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।

काठमाडौं । सालपा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंक ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको तुलनामा केही सुधार हो। गत आवको चैत मसान्तसम्म बैंक ३५ लाख ८४ हजार ६९५ रुपैयाँ नोक्सानीमा थियो । बैंकको वितरणयोग्य मुनाफा भने १ करोड ६५ लाख ९० हजार रुपैयाँ ऋणात्मक रहेको छ। कुल सञ्चित नोक्सानी ९ करोड १३ लाख ३९ हजार रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानीसँगै सबै आम्दानीमा सामान्य सुधार हुँदा नोक्सानीमा कमी देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ५ करोड २२ लाख १५ हजार रुपैयाँबाट बढेर ५ करोड ५७ लाख ५० हजार रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम १ करोड ६६ लाख २८ हजार रुपैयाँबाट घटेर ९७ लाख ९९ हजार रुपैयाँमात्रै बैंकले छुट्याएको छ । आम्दानीमा वृद्धि र नोक्सानी व्यवस्थामा छुट्याएको रकम घटेपनि सञ्चालन खर्च बढ्दा बैंकको नोक्सानीमा भने अपेक्षित सुधार हुन सकेन ।

समीक्ष अवधिमा बैंकको निष्क्रिय कर्जा ६.९२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा झरेको छ। गत चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा रहेको छ । 

बैंकको चुक्ता पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म बैंकले १ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।