ज्योति विकास बैंकको ९ महिनामा ६२ करोड कमाई, वितरणयोग्य मुनाफा भने ऋणात्मक

बैंकले साउनदेखि चैतसम्मको अवधिमा ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

काठमाडौं । ज्योति विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले साउनदेखि चैतसम्मको अवधिमा ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३० करोड ६६ लाख रुपैयाँ रहेको थियो । विवरणअनुसार चालु वर्षको पहिलो ९ महिनामा बैंकले १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष १ अर्ब ५८ करोड ४१ लाख रुपैयाँ थियो । यस्तै, समीक्ष अवधिमा बैंकको सञ्चालन मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ । बैंकले यो अवधिमा ८९ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ४३ करोड ७९ लाख रुपैयाँ कमाएको थियो ।

चालु आर्थिक वर्षको चैतसम्म बैंकले ६४ अर्ब ४९ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।  

चैतसम्म बैंकको खराब कर्जा बढेर २.३६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खराब कर्जा १.३७ प्रतिशत थियो।

बैंकको इम्पेयरमेन्ट चार्ज भने घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५२ करोड १६ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।