राप्रपाका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
काठमाडौं । विक्रम पाण्डे पक्राउ परेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्रीसमेत रहेका पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, आफूअनुकूल ठेक्का पार्ने उद्देश्यले ई–बिडिङ प्रणालीमा अनधिकृत हस्तक्षेप (ह्याकिङ) गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पाण्डे राप्रपाका वरिष्ठ नेता तथा उपाध्यक्ष पनि हुन् ।
उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।
यसअघि पाण्डेविरुद्ध २०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उनले ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।