मौसमजन्य विपद् व्यवस्थापनका लागि देशभर ६० वटा अस्थायी बेस स्थापना गरिने

बिहीबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले ९ वटा विपद् व्यवस्थापन सम्बन्धी स्याथी बेस र ६० वटा अस्थायी बेस सञ्चालन ल्याउन लागेको जानकारी दिए ।

काठमाडौँ । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र उद्धार कार्यलाई सुदृढ बनाउन देशभर स्थायी र अस्थायी संरचना बनाउने भएको छ ।

बिहीबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले ९ वटा विपद् व्यवस्थापन सम्बन्धी स्याथी बेस र ६० वटा अस्थायी बेस सञ्चालन ल्याउन लागेको जानकारी दिए । उनकाअनुसार हालै सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लाको सीमामा ६ वटा बेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरीले हाल चार वटा स्थायी अपरेसनल युनिट स्थापना गरेको उनको भनाइ छ । कुरिनटारस्थित तालिम केन्द्र, मनाङको उच्च पर्वतीय उद्धार तालिम शिक्षलय, सप्तरीको विशेष कार्य शिक्षलय र विपद् उद्धार गणले विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्ने गरेका छन् ।

उनले प्रहरी हेडक्वाटरदेखि बीओपीसम्म नै विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरेको पनि जानकारी दिए ।

उनकाअनुसार विभिन्न प्रकारका विपद् सम्बन्धी तालिममार्फत ४ हजार ५१३ जनशक्ति उत्पादन गरिएको छ । ती जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गरिएको उनले जानकारी दिए ।हेडक्वार्टरदेखि सीमा सुरक्ष पोस्ट (बीओपी) स्तरसम्म ८ हजार १ सय १० जना सशस्त्र प्रहरी कर्मचारी संलग्न विपद् समर्पित टोली गठन गरिएको उनको भनाइ छ ।

उनले दक्ष जनशक्ति परिचालन गरेपनि आवश्यक उद्धार सामग्रीको अभाव रहेको बताए । देशभरि रहेका ५४७ युनिटमध्ये धेरैमा आधारभूत सामग्री अझै अपुग रहेको उनको भनाइ छ ।