स्रोत–साधन अभावमा विपद् व्यवस्थापन निजी क्षेत्रको भरमा
मनसुनजन्य विपद् व्यवस्थापनका लागि हवाई उद्धारका लागि आवश्यक पर्ने हेलिकप्टर, डुंगा, ड्रोन लगायतका व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्नु परेको प्राधिकरणले जनाएको छ ।
काठमाडौँ । विपद् व्यवस्थापनका लागि स्रोत साधनको अभाव हुँदा निजी क्षेत्रसँगको सहकार्यमा जोड दिनुपरेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलले जनाएको छ । प्राधिकरणले बिहीवार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सो कुराको जानकारी गराएको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले त्यस्ता खालको अभाव हुन नदिनका लागि आफूहरुले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिनुपरेको समेत स्पष्ट पारे । मनसुनजन्य विपद् व्यवस्थापनका लागि हवाई उद्धारका लागि आवश्यक पर्ने हेलिकप्टर, डुंगा, ड्रोन लगायतका व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्नु परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख भट्टले गत वर्षमा जस्तै यस वर्ष पनि विपद व्यवस्थापनका लागि अभाव भएका स्रोत र साधनको थप व्यवस्थापनका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिइएको बताए ।
भट्टले गत वर्षदेखि सुरु गरिएको सहकार्य यस वर्ष पनि निरन्तर रहेको जानकारी दिँदै काठमाडौं उपत्यकाभित्रको हेलिकप्टर उद्धार सेवा निजी क्षेत्रले निःशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर न्यूनतम लागतमा सेवा दिने व्यवस्था गरिएको बताए।
उनले भने, “हामीसँग सामग्रीको अभाव छ । त्यसैले ड्रोनका लागि दुई वटा एसोसिएसनसँग सम्झौता गरेका थियौं । आवश्यक परेको बेला ड्रोन र पाइलट उपलब्ध गराउने, साथै उहाँहरूको खाना र बसोबासको व्यवस्थापन प्राधिकरणले गर्ने व्यवस्था गरिएको थियो । हेलिकप्टर उद्धारका लागि पनि गत वर्षदेखि निजी क्षेत्रसँग सहकार्य भइरहेको छ । डुंगाको अभाव भएकाले र्याफ्टिङ एसोसिएसनसँग पनि सम्झौता गरेका छौं । यस वर्ष पनि थप सहकार्यका सम्भावना खोजिरहेका छौं ।”
प्राधिकरणले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहलाई ढल तथा खोलानाला अवरुद्ध नहुने गरी सरसफाइ र पूर्वतयारी गर्न पत्राचार गरिएको जनाएको छ ।
स्थानीय सरकार नै विपद् व्यवस्थापनको पहिलो जिम्मेवार निकाय भएकाले आवश्यक तयारी र समन्वयलाई थप प्रभावकारी बनाइँदै लगिएको प्राधिकरणले स्पष्ट पारेको छ ।