सामान्य अंकले घट्यो नेप्से, कारोबार ७ अर्ब ८१ करोड माथि

आज नेप्से परिसूचक २.९५ अंक घटेर २८०४.१७ विन्दुमा झरेको छ । आज ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँबराबरको १ करोड ७५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट आएको छ । पछिल्लो दुई कारोबार दिनदेखि घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक २.९५ अंक घटेर २८०४.१७ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ । नेप्से सामान्य अंक घटेपनि कारोबार रकम भने बढेको छ । आज ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँबराबरको १ करोड ७५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । मंगलबार भने ५ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुनेमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्ट. रहेका छन् । कारोबारमा आएको होटल फरेष्ट इनको सेयरमूल्य सर्वाधिक १०.७५ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । आज कुल ३४२ कम्पनीको कारोबार भएकोमा १२१ कम्पनीको मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन् ।