बैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम पेन्ट्स
पहिलो चरणमा १० प्रतिशत आरक्षित सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।
काठमाडौँ । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजले वैशाख २१ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । पहिलो चरणमा १० प्रतिशत आरक्षित सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो । आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । निष्कासन मिति छिटोमा वैशाख २४ गतेसम्म तोकिएको यो आईपीओ खरीदका लागि सो अवधिसम्म मागबमोजिम आवेदन प्राप्त नभएमा भने जेठ ४ गतेसम्म निष्कासन लम्बिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् । साथै मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन पाउने व्यवस्था वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि गरिएको छ ।
कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।