नौ महिनामा व्यापार घाटा १२ खर्ब ६७ अर्ब नाघ्यो: आयातको हिस्सा ८७ प्रतिशत

तथ्यांक अनुसार १४ खर्ब ९० अर्ब रुपैयाँको आयात हुँदा निर्यात २ खर्ब २२ अर्ब रुपैयाँको मात्रै छ ।

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउन-चैत)सम्ममा नेपालको व्यापार घाटा साढे १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ नाघेको छ । गत आवको सोही अवधिमा व्यापार घाटा ११ खर्ब २१ अर्ब रुपैयाँ थियो । तथ्यांक अनुसार १४ खर्ब ९० अर्ब रुपैयाँको आयात हुँदा निर्यात २ खर्ब २२ अर्ब रुपैयाँको मात्रै छ ।

गत वर्षको तुलनामा आयात १३ प्रतिशतले बढ्दा निर्यात पनि १८ प्रतिशतले बढेको छ । तर आयातको तुलनामा निर्यातको हिस्सा न्यून हुँदा नेपालले नौ महिनामा १७ खर्ब १३ अर्ब रुपैयाँको कुल वैदेशिक व्यापार गर्दा व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ ।

गत वर्ष १३ अर्ब ९ अर्ब रुपैयाँको मात्रै आयात भएको थियो भने निर्यात १ खर्ब ८८ अर्ब रुपैयाँको थियो । चालू आवको नौ महिनासम्ममा नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७ प्रतिशत र निर्यातको हिस्सा १३ प्रतिशत मात्रै छ । यस अवधिमा नेपालले १६७ देशसँग व्यापार गरेको छ । जसमध्ये ३५ देशसँग व्यापार नाफा रहेको छ भने १२२ देशसँग व्यापार घाटा रहेको छ । 

यो अवधिमा नेपालमा आयात भएको वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा कृषि र इन्धनको पाइएको छ । ३ अर्ब १७ अर्ब रुपैयाँबराबरको कृषिजन्य वस्तु आयात हुँदा दोश्रोमा २ खर्ब ५० अर्ब रुपैयाँको विभिन्न प्रकारका पेट्रोलियम पदार्थ आयात भएको छ । निर्यातमा सुधार देखिए पनि आयात निकै ठूलो हुँदा व्यापार घाटाको चुनौती भने कायमै छ।