गृहमन्त्रीसँग सम्बन्धित आरोपहरूमा उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग
पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंकालाई ध्यान दिँदै छानबिन स्वतन्त्र र प्रभावरहित बनाउन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड दिइएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको सम्पत्तिको स्रोतबारे उठेका आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तत्काल सुरु गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसे ले आइतबार जारी गरेको विज्ञप्तिमा मन्त्रीहरूको सम्पत्तिको स्रोतसम्बन्धी सार्वजनिक प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने पार्टीको पूर्वनिर्णय दोहोर्याइएको छ । “पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ हुन्, त्यसैले यस्ता विषयमा निष्पक्ष छानबिन अपरिहार्य छ,” विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ । पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंकालाई ध्यान दिँदै छानबिन स्वतन्त्र र प्रभावरहित बनाउन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड दिइएको छ ।
कांग्रेसले नैतिकता र स्वच्छ राजनीतिको पक्षमा आफू सधैं उभिँदै आएको उल्लेख गर्दै यस विषयलाई कुनै व्यक्ति वा दल विशेषविरुद्ध नभई समग्र राजनीतिक संस्कार सुधारसँग जोडेर हेर्नुपर्ने बताएको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकबाटै मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको जानकारी समेत गराएका छन् ।