विद्यार्थी आन्दोलन ‘अपडेट’को मोडमा: आत्मसमीक्षा र सुधारको बहस तीव्र
काठमाडौं । नेपाली विद्यार्थी आन्दोलन अहिले गम्भीर आत्मसमीक्षा, संरचनात्मक सुधार र अस्तित्व रक्षाको संवेदनशील मोडमा उभिएको छ। बदलिँदो समय, प्रविधि र सामाजिक मनोविज्ञानअनुसार पुरानो राजनीतिक ढाँचा त्याग्दै आन्दोलनलाई ‘अपडेट’ र शुद्धीकरण गर्नुपर्ने आवाज सशक्त बन्दै गएको छ।
विद्यार्थी आन्दोलनलाई विचार उत्पादन गर्ने ‘नर्सरी’को रूपमा व्याख्या गर्दै सरोकारवालाहरूले यसलाई उपेक्षा गर्ने वा प्रशासनिक बल प्रयोगमार्फत कमजोर पार्ने प्रयासको विरोध गरेका छन्। उनीहरूका अनुसार विद्यार्थी नेतृत्व पार्टी शीर्ष नेताको छायाँमा सीमित नभई शैक्षिक मुद्दामा केन्द्रित भई सक्रिय संघर्षमा उत्रिन आवश्यक छ।
नेपाली कांग्रेसका नेता नैनसिंह महर ले परिवर्तनशील समाज र प्रविधिको युगमा पुरानै राजनीतिक शैली प्रभावकारी नहुने बताएका छन्। संयुक्त विद्यार्थी संगठनको कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्था पुरानो पाठ्यक्रम र कार्यशैलीमा अडिएको उल्लेख गरे। “समाज र प्रविधि परिवर्तन भइसक्दा पनि हाम्रो काम गर्ने शैली पुरानै छ,” उनले भने, “विद्यार्थी राजनीति समाप्त गर्ने होइन, यसको चरित्र सुधार गर्न जरुरी छ।”
नेपाल कम्युनिष्ट पार्टीका युवा नेता सुदेश पराजुली ले विद्यार्थी आन्दोलन कुनै व्यक्तिको चाहनाले समाप्त नहुने बताएका छन्। आन्दोलनको उत्पत्ति सडक संघर्षबाट भएको उल्लेख गर्दै उनले यसलाई खारेज गर्न नसकिने जिकिर गरे। उनले वर्तमान नेतृत्वलाई पार्टीको प्रभावबाट स्वतन्त्र भई अघि बढ्न र आन्तरिक विवाद त्यागेर सडक संघर्षमा केन्द्रित हुन आग्रह गरे। उनका अनुसार विद्यार्थी आन्दोलन नेतृत्वलाई प्रश्न गर्ने र जवाफदेही बनाउने महत्वपूर्ण माध्यम हो।
यसैगरी, नेकपा एमालेका युवा नेता समिक बडाल ले विद्यार्थी आन्दोलनलाई विचार उत्पादनको प्रमुख केन्द्रका रूपमा व्याख्या गरेका छन्। उनले आन्दोलनको ऐतिहासिक योगदान स्मरण गराउँदै यसको गरिमा र अस्तित्वलाई कमजोर आँक्न नहुने बताए। विगतमा महत्वपूर्ण राजनीतिक परिवर्तनमा विद्यार्थी संगठनहरूको भूमिका निर्णायक रहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थामा यिनै संगठनहरूको अस्तित्वमाथि प्रश्न उठ्नु विडम्बनापूर्ण भएको टिप्पणी गरे।
नेताहरूले कलेजहरूलाई सचेत नागरिक उत्पादन गर्ने थलोका रूपमा व्याख्या गर्दै विद्यार्थी संगठनहरूमाथि हुने कुनै पनि प्रकारको दबाब वा प्रतिबन्धको प्रतिवाद गर्नुपर्ने बताएका छन्। बदलिँदो परिस्थितिमा नीतिगत लडाइँ, आचरण सुधार र नयाँ सोचसहित विद्यार्थी आन्दोलनलाई पुनर्जीवित गर्नुपर्नेमा उनीहरूको जोड छ।