वीरगञ्जको मुख्य सडक विस्तार सुरु, भत्काइए सडकछेउका घरहरू

कार्यालयले सडकको दायाँ-बायाँ २५-२५ मिटर क्षेत्रमा रहेका स्थायी तथा अस्थायी संरचनाहरू हटाउन डोजर प्रयोग गरेको हो ।

काठमाडौं । वीरगञ्जको मुख्य सडक फराकिलो बनाउने काम सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडकखण्डलाई फराकिलो बनाउने अभियान आज एकाबिहानैदेखि सुरु गरेको हो । कार्यालयले सडकको दायाँ-बायाँ २५-२५ मिटर क्षेत्रमा रहेका स्थायी तथा अस्थायी संरचनाहरू हटाउन डोजर प्रयोग गरेको हो । सडक विस्तारलाई प्रभावकारी बनाउन एकैसाथ पाँच स्थानबाट काम सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक विस्तारका लागि डोजर र एक्साभेटरसहित ९ वटा उपकरणलगायत प्रयोग गरिएको छ । सुरक्षकर्मीहरुको तैनाथी पनि बढाइएको छ ।

सर्वोच्च अदालतले २०८१ फागुन २८ गते उक्त सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै विपक्षीको रिट खारेज गरेपछि सडक विस्तारको काम अघि बढाउने बाटो खुलेको हो । यसअघि करिब एक हजार २०० घरधनीले मुआब्जा र वैकल्पिक सडकको माग गर्दै रिट दायर गरेका थिए, जसका कारण झन्डै १३ वर्षदेखि सडक विस्तार अन्योलमा परेको थियो । अब भने अदालतको निर्णयपछि प्रशासनले संरचना हटाउँदै चरणबद्ध रूपमा सडक विस्तार अघि बढाएको हो ।

बिनासूचना संरचना भत्काउन डोजर परिचालन गरिएको भन्दै स्थानीयले भने आपत्ति जनाएका छन् ।