तारा मानन्धरलाई मुक्तिनाथ विकास बैंकको नेतृत्व, आगामी जेठ १ गतेदेखि पदभार सम्हाल्ने
काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिले अनुभवी बैंकर तारा मानन्धरलाई बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नियुक्त गरेको छ। बैंकको वैशाख ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले आगामी चार वर्षको कार्यकालका लागि उनिलाई उक्त जिम्मेवारी सुम्पने निर्णय गरेको हो। हाल बैंकको नेतृत्व सम्हालिरहेका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको कार्यकाल आगामी वैशाख मसान्तमा सकिने भएकाले नवनियुक्त सीइओ मानन्धरले जेठ १ गतेदेखि औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गर्नेछन्।
नेपाली बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको फराकिलो अनुभव सँगालेका मानन्धर एक कुशल र रणनीतिक नेतृत्वकर्ताका रूपमा परिचित छन्। साविकको नेपाल बंगलादेश बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका उनिले यसअघि स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, प्रभु बैंक, प्राइम कमर्शियल बैंकलगायतका प्रतिष्ठित वित्तीय संस्थाहरूमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन्। यसका साथै, उनिले विगतमा मुक्तिनाथ विकास बैंककै नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) को रूपमा समेत कार्य गरिसकेकाले बैंकको कार्यसंस्कृति, आन्तरिक संरचना र संस्थागत रणनीतिसँग उनि पूर्ण रूपमा जानकार छन्।
बैंकिङ क्षेत्रबाट केही समय विश्राम लिई २०८१ वैशाखदेखि डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृतको रूपमा मिडिया उद्योगको नेतृत्व गरिरहेका मानन्धर पुनः आफ्नो मूल क्षेत्रमै फर्केका हुन्। बैंकिङ र कर्पोरेट क्षेत्रको बहुआयामिक अनुभव हासिल गरेका उनिको नेतृत्वमा बैंकले सुशासन, व्यावसायिक विस्तार र दीर्घकालीन रणनीतिलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। विशेषगरी उनिको कार्यकालमा डिजिटल बैंकिङको प्रवर्द्धन, ग्राहक सेवाको आधुनिकीकरण र संस्थागत ब्रान्डिङमा मुक्तिनाथ विकास बैंकले नयाँ उचाइ हासिल गर्ने अपेक्ष वित्तीय क्षेत्रले राखेको छ।