९ महिनामा ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता, लाभांशबापत बाहिरियो ४ अर्ब

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

काठमाडौं । चालु आथिर्क वर्ष २०८२र८३ को नौ महिनामा ४१ अर्ब रुपियाँ भन्दा बढीको वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । चैतमा मात्र ६१ वटा परियोजनामार्फत एक अर्ब १२ करोड २९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । अन्य महिनाको तुलनामा चैत महिनामा लगानी प्रतिबद्धता बढेको तथ्याङ्कले देखाएको छ । गत फागुनसम्म ५५४ परियोजनामार्फत ४० अर्ब ६६ करोड ९३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको थियो ।

विभागका अनुसार साना परियोजनाहरूमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । कुल दर्ता भएका उद्योगमध्ये ५९९ वटा साना उद्योग रहेका छन् । बाँकी मझौलाका लागि ८ वटा र अर्को ८ वटा ठूला परियोजनाका लागि लगानी प्रतिबद्धता भएको छ ।

कृषिमूलक क्षेत्र सबैभन्दा बढी २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जुन लगानी १६ वटा परियोजनाका लागि हो ।

त्यस्तै, पर्यटन क्षेत्रका १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ लगानी आउँदा उत्पादनमूलक क्षेत्रमा ३८ परियोजनाका लागि दुई अर्ब ५४ करोड ५६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

सेवामूलक क्षेत्रका ४७ परियोजनामा तीन अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, सूचना प्रविधि क्षेत्रका ३४६ परियोजनामा एक अर्ब ४५ करोड ७२ लाख ३६ हजार रुपैयाँ, ऊर्जामूलक क्षेत्रका दुई परियोजनामा २३ करोड ४२ लाख ५० हजार रुपैयाँ र खनिज मूलक क्षेत्रमा ११ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा विदेशी लगानीकर्ताले नेपालबाट लाभांशबापत ४ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ लगेका छन् । यो साउनदेखि चैत महिनासम्मको हो। यस्तै, चैत महिनामा मात्रै विदेशी लगानीकर्ताले २१ करोड ४८ लाख रुपैयाँ लाभांशबापत विदेश लगेका थिए ।

गत वर्षको तुलनामा नेपालबाट विदेश लगेको रकम उल्लेख्यरुपमा बढेको छ। तथ्यांकअनुसार गत वर्ष १ अर्ब ७२ करोड रुपैयाँ लाभांशबापत विदेश गएको थियो। जुन यो वर्ष उल्लेख्य मात्रामा बढेको हो ।