सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू, कुनै पनि फाइलमा निर्णय दुई दिनभित्र

मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ ।

काठमाडौं । सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ । साथै, कुनै पनि पत्र वा निर्णय प्रक्रिया सुरु गर्ने कर्मचारीले त्यसको अन्त्यसम्म अनुगमन गर्ने र प्रगतिको विवरण राख्ने दायित्व पनि लिनुपर्नेछ । दैनिक कार्यसम्पादनमा देखिँदै आएको ढिलाइ अन्त्य गर्दै सेवा प्रवाहलाई तीव्र र प्रभावकारी बनाउन यो नीति लागु गरिएको हो । 

यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै कर्मचारीसँग प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइने र त्यसको कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी कार्यालय प्रमुखलाई दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, यस कदमले कर्मचारीमा अनुशासन कायम गर्नुका साथै कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्ष गरिएको छ । यसबाट सेवाग्राहीले छिटो, सहज र प्रभावकारी सेवा पाउने विश्वास लिइएको छ ।

मन्त्रालयले यस अभ्यासलाई मातहतका सबै निकायमा विस्तार गर्दै दीर्घकालीन कार्यसंस्कृतिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।