४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
केन्द्रीय बैंकले ५६ दिनको लागि ४० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले ५६ दिनको लागि ४० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
यो निक्षेप संकलन उपकरणको आउँदो जेठ २७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।