वैशाख महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर घट्यो, कुन बैंकको कति ?
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ बैंकले वैशाख महिनाका लागि ब्याजदर घटाएका छन् भने १२ वटा बैंकले स्थिर राखेका छन् ।
काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गर्दै २०८३ को पहिलो महिना वैशाखका लागि ब्याजदर घटाएका हुन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ बैंकले वैशाख महिनाका लागि ब्याजदर घटाएका छन् भने १२ वटा बैंकले स्थिर राखेका छन् ।
बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि निक्षेपमा दिने ब्याजदर प्रकाशित गर्नुपर्छ । सोमबार वैशाखका लागि दिने निक्षेपको ब्याजदर सार्वजनिक गर्दा चैतको तुलनामा वैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.०९ प्रतिशतले घटाएका हुन् ।
चैतमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.४८ प्रतिशत रहेकोमा वैशाखमा ४.३९ प्रतिशतमा झरेको छ । वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपमा एनएमबी बैंकले सर्वाधिक ५ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले ४.७५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका हुन् । दुवै बैंकले चैतमा ५ प्रतिशत ब्याजदर दिएकोमा वैशाखमा ०.२५ प्रतिशत बिन्दुले घटाएका हुन् ।
चैतको तुलनामा वैशाखमा ब्याजदर घटाएका बैंकमा एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकसँगै एभरेस्ट, हिमालयन, कुमारी, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड छन् । त्यस्तै स्थिर राखेकामा कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल, एनएमबी, एसबीआई, प्राइम कमर्सियल, प्रभु र सानिमा छन् ।
बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशतभन्दा कम गर्न नसक्ने भएपछि लागत घटाउन मुद्दती निक्षेपको ब्याजदर पनि घटाउँदै लगेका हुन् । मुद्दती निक्षेपमा ३ वर्षदेखि १० वर्षका लागि बैंकहरूले ४ प्रतिशत वा सोभन्दा माथिको ब्याजदर प्रस्ताव गरेपछि छोटो अवधिको मुद्दती निक्षेपमा भने सबैजसो बैंकको ब्याजदर ४ प्रतिशतभन्दा तल छ ।
वैशाखमा सिद्धार्थ बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४ प्रतिशत मात्रै ब्याजदर प्रस्ताव गरेको छ । चैतमा ४.२५ प्रतिशत रहेकोमा वैशाखमा ०.२५ प्रतिशत बिन्दुले घटाएको हो । कुमारी बैंकले चैतको ४.१२ प्रतिशतमा ०.०७ प्रतिशत बिन्दुले घटाएर ४।०५ प्रतिशत बनाएको छ । एभरेस्ट बैंकले पनि ४.२५ प्रतिशतबाट ०.२० प्रतिशत बिन्दुले घटाएर ४.०५ प्रतिशत नै ब्याजदर कायम गरेको छ ।