घाटामा नेपालको एकमात्र रेल सेवा : आम्दानीभन्दा तीन गुणा बढी खर्च, ४८ करोड नोक्सानीले संकट गहिरिँदै

नेपाल रेल्वे कम्पनीको व्यावसायिक कार्ययोजना-२०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मका पाँच वर्षमा कम्पनीले १९ करोड २१ लाख २० हजार रुपैयाँ आम्दानी गर्दा ६७ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ । यस अवधिमा कुल ४८ करोड १५ लाख ८० हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको छ, जुन आम्दानीभन्दा झन्डै तेब्बर बढी हो ।

धनुषा । नेपालमा सञ्चालनमा रहेको एकमात्र रेल सेवा गम्भीर आर्थिक संकटतर्फ धकेलिँदै गएको छ । लगातार बढ्दो घाटा, व्यवस्थापकीय कमजोरी र जनशक्ति अभावले नेपाल रेल्वे कम्पनीको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको हो । यात्री सेवा केही सहज र लोकप्रिय बने पनि कम्पनीको वित्तीय अवस्था भने चिन्ताजनक छ । पछिल्लो पाँच वर्षको तथ्याङ्कले आम्दानीभन्दा खर्च झन्डै तीन गुणा बढी रहेको देखाउँछ, जसले दीर्घकालीन रूपमा सेवा सञ्चालनमै प्रश्न उठाएको छ ।

नेपाल रेल्वे कम्पनीको व्यावसायिक कार्ययोजना-२०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मका पाँच वर्षमा कम्पनीले १९ करोड २१ लाख २० हजार रुपैयाँ आम्दानी गर्दा ६७ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ । यस अवधिमा कुल ४८ करोड १५ लाख ८० हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको छ, जुन आम्दानीभन्दा झन्डै तेब्बर बढी हो ।

आर्थिक वर्ष २०७६/७७ मा ३९ लाख ७० हजार रुपैयाँ आम्दानी हुँदा १ करोड १३ लाख रुपैयाँ खर्च भएको थियो । २०७७/०७८ मा ४० लाख १० हजार आम्दानी हुँदा १ करोड ९८ लाख खर्च भयो । २०७८/०७९ मा २ करोड ५४ लाख आम्दानी हुँदा ११ करोड खर्च भयो ।

आर्थिक वर्ष २०७९/०८० मा ७ करोड ३८ लाख आम्दानी हुँदा २६ करोड ९९ लाख खर्च भएको थियो भने २०८०/०८१ मा ८ करोड ५० लाख आम्दानी हुँदा २६ करोड २७ लाख खर्च भएको तथ्यांक छ ।

हाल कम्पनीको मासिक आम्दानी करिब ७५ लाख रुपैयाँ छ भने खर्च १ करोड २९ लाख रुपैयाँ पुग्ने गरेको छ । टिकट बिक्री, वीरगञ्जको जग्गा तथा गोदाम भाडा, सटर भाडा र तरकारी बजार भाडा कम्पनीको मुख्य आयस्रोत हो । यो आम्दानीबाट खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा पाँच प्रतिशत ब्याजदरमा ऋण लिँदै आएको छ ।

२०८१ असार मसान्तसम्म सावाँ र ब्याजसहित कम्पनीको कुल ऋण ७९ करोड ४ लाख २६ हजार ८९६ रुपैयाँ पुगेको छ, जसले रेल सेवामाथि थप आर्थिक दबाब सिर्जना गरेको छ ।

घाटाको मुख्य कारणमध्ये भारतबाट ल्याइएका प्राविधिक कर्मचारीको खर्च पनि प्रमुख रहेको छ । सुरुमा २६ जना ल्याइएकामा हाल १७ जना भारतीय कर्मचारी कार्यरत छन् । तलबभत्ता, सरसफाइ तथा मर्मतसम्भारका लागि कम्पनीले भारतीय कोंकन कम्पनीलाई मासिक ७० लाख भारतीय रुपैयाँ अर्थात् करिब १ करोड १२ लाख नेपाली रुपैयाँ बुझाउँदै आएको छ । त्यस्तै, स्थायी नेपाली जनशक्ति अभाव, करार कर्मचारीमा निर्भरता, प्राविधिक तालिमको कमी र प्रशासनिक ढिलासुस्तीले पनि सेवा सञ्चालनमा चुनौती थपेको छ।

भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म हाल रेल सेवा सञ्चालनमा छ । दैनिक तीन पटक चल्ने यो सेवा स्थानीयवासीका लागि आवतजावतको भरपर्दो माध्यम बनेको छ ।