नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण, २०२७ मा सुधारको अपेक्षा

एशियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर सुस्त रहने प्रक्षेपण गरेको हो । गत वर्ष (सन् २०२५) यस्तो वृद्धिदर ४.६ प्रतिशत थियो ।

काठमाडौं । चालु आर्थिक वर्ष २०२६ मा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । एशियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर सुस्त रहने प्रक्षेपण गरेको हो । गत वर्ष (सन् २०२५) यस्तो वृद्धिदर ४.६ प्रतिशत थियो ।

यो वर्ष अर्थतन्त्र खुम्चिए पनि आगामी वर्ष भने सुधार हुने एडिबीको प्रक्षेपण छ । आन्तरिक बजारको माग बढ्ने, जलविद्युत् निर्यातमा वृद्धि हुने र पर्यटन क्षेत्र मजबुत हुने हुँदा सन् २०२७ मा आर्थिक वृद्धिदर बढेर ५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । 

त्यसैगरी, सन् २०२६ मा महँगी (मुद्रास्फीति दर) ३.७ प्रतिशत रहने र आर्थिक गतिविधिमा सुधार आएसँगै सन् २०२७ मा यो बढेर ४.५ प्रतिशत पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

देशको चालु खाता बचत सन् २०२६ मा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ७.२ प्रतिशत रहनेछ ।

तर, वैदेशिक रोजगारीमा जाने क्रममा आउन सक्ने रोकावट, इन्धनको मूल्यवृद्धि र पर्यटनमा हुनसक्ने नोक्सानीका कारण सन् २०२७ मा भने चालु खाता बचत घटेर ५.३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

प्रतिवेदनले राजनीतिक स्थायित्व, सुधार हुँदै गएको आन्तरिक माग, सेवा क्षेत्रको विस्तार तथा पर्यटन क्षेत्रको पुनरुत्थानले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने जनाएको छ । यद्यपि, पूँजीगत खर्चमा कमजोरी, वित्तीय क्षेत्रका चुनौती र जलवायु जोखिमले आर्थिक वृद्धिमा दबाब सिर्जना गर्न सक्ने उल्लेख गरिएको छ । मुद्रास्फीति करिब ५ प्रतिशत आसपास रहने अनुमान गरिएको छ । साथै, रेमिट्यान्स आप्रवाह र सेवा क्षेत्रको विस्तारले अर्थतन्त्रलाई टेवा पुर्‍याउने एडीबीको भनाइ छ । एडीबीले दीगो आर्थिक विकासका लागि संरचनात्मक सुधार, लगानीमैत्री वातावरण, र वित्तीय प्रणाली सुदृढीकरणमा जोड दिनुपर्ने सुझाव दिएको छ ।

गत सातामा विश्व बैंकले नेपालको आर्थिक वृद्धि २.३ प्रतिशत पुग्ने प्रक्षेपण सार्वजनिक गरेको थियो ।