सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध मुद्दा दायर

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ ।

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा पूर्व सभामुख महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर बिहीबार करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो । पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । यस प्रकरणमा अख्तियारले महराका साथै उनका छोरा राहुल, भन्सार विभागका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ लगायतका कर्मचारी र चिनियाँ तस्करहरूलाई पनि प्रतिवादी बनाएको छ।

महराविरूद्ध यसअघि गत असोज २७ गते जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दर्ता भएको थियो । उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको थियो । उच्च अदालत पाटनले महरालाई गत मंसिर ११ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको हो । चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्राउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो ।