सरकारले १३ दिन गैरकानूनी नियन्त्रणमा राख्यो, मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ : ओली
सामाजिक सञ्जालमार्फत उनले १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको उल्लेख गर्दै सरकारले फौजदारी मुद्दा चलाउन आवश्यक आधार जुटाउन नसकेको बताएका हुन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुद्दा चलाउने आधार र प्रमाण सरकारले पुर्याउन नसकेपछि आफू रिहा भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको उल्लेख गर्दै सरकारले फौजदारी मुद्दा चलाउन आवश्यक आधार जुटाउन नसकेको बताएका हुन् । उनले आफ्नो रिहाइका लागि आवाज उठाउने नागरिक, कानुन व्यवसायी, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति पनि उनले सम्मान प्रकट गरेका छन् ।
प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासनलाई पनि धन्यवाद दिएका छन् ।
‘मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु । मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ उनको भनाइ छ ।
पक्राउको विरोधमा प्रदर्शनमा उत्रँदा घाइतेहरूको उपचार खर्च व्यहोर्न सरकार समक्ष आग्रह गरेका छन् । सरकारले नगरे पार्टीले गर्ने उनको भनाइ छ ।