सार्वजनिक यातायातको भाडा बढ्यो , १५.७५ देखि २१.६८ प्रतिशतसम्म वृद्धि
यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो । नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।
काठमाडौँ । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो । नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको छ । विशेष गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई नै भाडा वृद्धिको मूल आधार मानिएको विभाग स्रोतले बतायो । यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार नै शुल्क तिर्नुपर्नेछ । यातायात व्यवस्था विभागका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ । विभागले केही समयभित्रै आफ्नो आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र अन्य प्राविधिक कारण देखाउँदै यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए । नयाँ भाडादर कार्यान्वयनमा आएसँगै सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्न सक्ने देखिएको छ।