देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि विभागले जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति लिएको उच्च स्रोतले बतायो ।

सम्पत्ति शुद्धीकरण विभागले देउवा दम्पत्तिविरुद्ध केही समयदेखि अनुसन्धान गर्दै आएको छ । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभागलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि अनुसन्धान थप तीव्र बनाइएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरू स्वदेश नफर्किए आवश्यक प्रक्रिया पूरा गरी इन्टरपोलमार्फत ‘नोटिस’ जारी गरेर ल्याउने तयारी समेत भइरहेको छ । यद्यपि, प्रहरी स्रोतले भने पक्राउ अनुमति लिइए पनि पक्राउका लागि हालसम्म माथिल्लो तहबाट स्पष्ट निर्देशन वा अनुरोध आइनसकेको बताएको छ।

विभागको सिफारिसमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले यसअघि पूर्वऊर्जामन्त्री दीपक खड्का लाई चैत १५ गते पक्राउ गरेको थियो । हाल विभागले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल माथि पनि अनुसन्धान गरिरहेको छ । ओली भने भदौ २३-२४ का घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा चैत १४ गतेदेखि हिरासतमा छन् ।

देउवा उपचारका लागि भन्दै फागुन १३ गते सिंगापुर गएका थिए र त्यसपछि हङकङ पुगेका छन् । आरजू देउवा पनि विदेशमै रहेको जनाइएको छ। उनीहरू विदेशमा रहेकाले पक्राउ पुर्जी कार्यान्वयनका लागि प्रहरीले अन्तर्राष्ट्रिय समन्वय प्रक्रिया अघि बढाउने तयारी गरेको छ । भदौ २४ गतेको जेनजी घटनामा देउवा निवासमा आगजनी हुँदा ठूलो मात्रामा नगद जलेको अवस्थामा फेला परेको थियो । सोही घटनासँग जोडिएका प्रमाणका आधारमा विभागले सम्पत्ति शुद्धीकरणको कोणबाट अनुसन्धान गरिरहेको हो। घटनास्थलबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरिएको थियो ।