क्यासिनो जितको ५ हजार डलरभन्दा बढी रकम अब बैंक खातामै मात्रै भुक्तानी

क्यासिनोमा जुवा खेल्दा जितेको रकम ५ हजार अमेरिकी डलरभन्दा बढी भएमा बैंक खातामा मात्रै जम्मा गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

काठमाडौं । नेपालका क्यासिनोहरूमा विदेशी पर्यटकले जित्ने ठूलो परिमाणको रकम भुक्तानीमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । क्यासिनोमा जुवा खेल्दा जितेको रकम ५ हजार अमेरिकी डलरभन्दा बढी भएमा बैंक खातामा मात्रै जम्मा गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै क्यासिनो विनिंगको भुक्तानीमा नगदको सीमा तोक्दै बाँकी रकम बैंकमार्फत मात्र दिनुपर्ने अनिवार्य व्यवस्था गरेको हो ।

हाल ५ हजार डलरसम्म नगद भुक्तानी गर्नसक्ने व्यवस्था थियो । राष्ट्र बैंकले परिपत्र मार्फत ५ हजार भन्दा बढीको भुक्तानी सम्बन्धित खेलाडीको बैंक खातामा मात्रै भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो । ५ हजारभन्दा बढीको रकम भने खेलाडीको बैंक खातामा जम्मा हुनेगरी विदेशी मुद्रा भुक्तानी गर्न सकिने निर्देशनमा उल्लेख छ । खेलाडीबाट क्यासिनो खेलको लागि आवश्यक रकम नेपाली रुपैयाँमा लिने भएमा राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १७ बमोजिमको व्यवस्था पालना गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।