शिक्षा मन्त्रालयको निर्देशन: एउटै विद्यालयमा भर्ना शुल्क एक पटक मात्र लिनुपर्ने, नियम उल्लङ्घन गरे कारबाही
मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक(पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि विद्यार्थी भर्ना नगर्न देशभरका विद्यालयहरूलाई निर्देशन दिएको हो ।
काठमाडौं । शिक्ष मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ । मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक(पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि विद्यार्थी भर्ना नगर्न देशभरका विद्यालयहरूलाई निर्देशन दिएको हो । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तह मार्फत विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।
कतिपय विद्यालयले शैक्षिक सत्र सुरू नहुँदै विद्यार्थी भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिने र एउटै विद्यालयमा अर्को कक्षमा जाँदा पनि पटक(पटक भर्ना शुल्क लिने गरेको भन्दै त्यसलाई मन्त्रालयले गैरकानुनी भनेको छ ।
मन्त्रालयको पत्रमा भनिएको छ, ‘शिक्ष नियमावली २०५९ को परिच्छेद १५ मा शैक्षिक सत्र सुरू नभई विद्यार्थी भर्ना गर्न नपाइने स्पष्ट व्यवस्था छ । प्रचलित कानून र स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिनु गैरकानूनी हो ।’
यसका साथै, सर्वोच्च अदालतको फैसलालाई समेत आधार मान्दै मन्त्रालयले नियमविपरीत र कानुनी प्रावधानभन्दा बाहिर गएर लिइएको अग्रिम शुल्क तत्काल सम्बन्धित अभिभावक वा विद्यार्थीलाई फिर्ता गराउन भनेको छ। यदि कुनै विद्यालयले यो निर्देशनको उल्लंघन गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय तहहरूलाई अधिकार प्रत्यायोजन गरिएको मन्त्रालयको भनाइ छ ।