नेप्से परिसूचक २.६१ अंक घट्दा कारोबार ६ अर्ब ७३ करोडमा सीमित
आज नेप्से परिसूचक २.६१ अंक घटेर २७५७.४० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ ।
काठमाडौं । हिजो बढेको नेप्से परिसूचक आज सामान्य अंक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २.६१ अंक घटेर २७५७.४० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज ३४५ स्टकको ८१ हजार ५८२ पटकको कारोबारमा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७४ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । हिजो सोमबार भने १० अर्ब ९२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज पनि ६ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड २२ लाख ६१ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ । कुल कारोबारमा १७५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ८२ वटा कम्पनीको मूल्य बढेको छ। १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।