प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सोमबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको प्रस्तावबमोजिम रास्वपाका सांसद गणेश पराजुलीको सभापतित्वमा सबै दलका सदस्यहरू सम्मिलत समिति बनाइएको हो ।
काठमाडौं । प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको प्रस्तावबमोजिम रास्वपाका सांसद गणेश पराजुलीको सभापतित्वमा सबै दलका सदस्यहरू सम्मिलत समिति बनाइएको हो । सो समिति बनाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
समितिमा सांसदहरु ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निष्कल राई, बलावती शर्मा, मधु चौलागाइँ, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादल र डा. सुलभ खरेल छन् ।
समितिले सभामुखको सामान्य निर्देशनमा रही आफ्नो कार्यविधि आफैं तय गर्नेछ भने समितिलाई कार्यप्रारम्भ भएको मितिले १४ दिन कार्यअवधि दिइएको छ ।
नयाँ नियमावली निर्माण नहुञ्जेल हाल २०७९ को निवयमालीअन्तर्गत प्रतिनिधि सभा सञ्चालन गरिएको छ ।