नेप्सेको कारोबार अबदेखि शुक्रबार पनि, आइतबार बन्द हुने

आइतबार बेलुका बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईले जानकारी दिए ।

काठमाडौँ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएसँगै शुक्रबार पनि सेयर कारोबार खुल्ने भएको छ । आइतबार बेलुका बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईले जानकारी दिए । 

उनका अनुसार सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले नेप्सेले पनि सोहीअनुसार शुक्रबार सेयर कारोबार खोल्ने निर्णय गरेको हो । सिईओ चापागाईंले यो निर्णय यही सातादेखि लागू हुने बताए । सेयर कारोबार अब आइतबार भने सेयर बजार बन्द रहने बताए । आइतबारको साटो शुक्रबार बजार खोल्ने निर्णय भए पनि कारोबार समय भने ११ बजेदेखि ३ बजेसम्म नै यथावत् राखिएको उनको भनाई छ । यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएको थियो । नेप्सेले शुक्रबार कारोबार खोल्न लागेको यो पहिलो पटक भने होइन । यसअघि पनि सरकारले २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो । त्यति बेला पनि सातामा ५ दिन (सोमबारदेखि शुक्रबारसम्म) सेयर कारोबार भएको थियो। पछि सरकारले आइतबारको बिदा खारेज गरेपछि नेप्से पुनः पुरानै कार्य तालिकामा फर्किएको थियो ।