दुई परियोजनाका लागि साढे २७ अर्बभन्दा बढी विदेशी ऋण लिने सरकारको निर्णय
यस परियोजनाका लागि विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर र एशियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर ऋण स्वीकार गरिनेछ ।
काठमाडौं । सरकारले १८५ मिलियन (करिब साढे २७ अर्ब रुपैयाँ) अमेरिकी डलरबराबरको ऋण स्वीकार गर्ने भएको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद् बैठकले यस्तो सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा बैठकले ‘डिजिटल नेपाल ट्रान्स्फरमेसन’ परियोजनालाई अगाडि बढाउन दुई ठूला दातृ निकायबाट ऋण लिने प्रस्तावलाई स्वीकृत गरेको हो । यस परियोजनाका लागि विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर र एशियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर ऋण स्वीकार गरिनेछ । यो रकम नेपालको डिजिटल प्रणालीको सुदृढीकरण र सरकारी सेवाहरूलाई प्रविधिमैत्री बनाउन खर्च गरिने बताइएको छ ।
मन्त्रिपरिषद्ले ‘दीगो र समावेशी विकास’ परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण पनि स्वीकार गर्ने निर्णय गरेको छ । यो परियोजनाले नेपालको वातावरणीय सन्तुलन, सामाजिक समावेशीकरण र दीर्घकालीन विकास लक्ष्यहरू प्राप्त गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।