श्रम संस्कृति पार्टीद्वारा उपसभामुखमा उम्मेदवारी दिने घोषणा, हर्क साम्पाङले भने ‘हेरौं नयाँले कसलाई रोज्छन्’

काठमाडौँ । प्रतिनिधि सभाको रिक्त उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले आफ्नो उम्मेदवारी दिने भएको छ। पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले उपसभामुख निर्वाचनमा महिला उम्मेदवार खडा गर्ने औपचारिक जानकारी दिएका हुन्।

सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डिपी अर्याल निर्विरोध चयन भएको सन्दर्भ उल्लेख गर्दै साम्पाङले अबको प्रतिस्पर्धा रोचक हुने संकेत गरेका छन्। उनले फेसबुक पोस्टमा लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौं। अब उपसभामुख चयनको निर्वाचन हुँदैछ। हामी महिला उम्मेदवार खडा गर्दैछौं। हेरौं नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई। ७ भोट आउँछ कि १८९?’

प्रतिनिधि सभाको सभामुखमा अर्यालको मात्रै उम्मेदवारी परेकाले उनी आइतबार औपचारिक रूपमा नियुक्त हुने निश्चित भइसकेको छ। सभामुख सत्ता पक्षले लिएपछि उपसभामुख पद सामान्यतया विपक्षी दललाई दिने संसदीय अभ्यास रहँदै आएको छ। यद्यपि, यसपटक श्रम संस्कृति पार्टीले पनि सशक्त दाबेदारी पेश गर्ने भएपछि निर्वाचन प्रक्रिया थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ।

श्रम संस्कृति पार्टीसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाले पनि उपसभामुख पदका लागि आ-आफ्नो तयारी तीव्र पारेका छन्। साम्पाङको घोषणाले सदनमा रहेका नयाँ र पुराना शक्तिहरूबीचको मत विभाजनलाई लिएर नयाँ बहस छेडिदिएको छ। उपसभामुखको निर्वाचन तालिका र अन्य दलका उम्मेदवारहरूबारे थप निर्णय भने आइतबारको संसद बैठकपछि प्रष्ट हुने अनुमान गरिएको छ।