आठ महिनामा विदेशिँदा झण्डै डेढ खर्ब बाहिरियो, अध्ययनमै ९७ अर्ब खर्च
राष्ट्र बैंकका अनुसार साउनदेखि फागुनसम्म नेपालीहरूले विदेश यात्रा गर्दा १ खर्ब ४५ अर्ब १२ करोड रुपैयाँ देशबाट बाहिरिएको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विदेश जाने नेपालीसँगै झण्डै डेढ खर्ब रुपैयाँ बाहिरिएको छ । राष्ट्र बैंकका अनुसार साउनदेखि फागुनसम्म नेपालीहरूले विदेश यात्रा गर्दा १ खर्ब ४५ अर्ब १२ करोड रुपैयाँ देशबाट बाहिरिएको हो ।
यस अवधिमा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत मात्रै ९७ अर्ब रुपैयाँ बाहिरिएको तथ्यांकले देखाउँछ । कुल बाहिरिएको रकममा शिक्षातर्फको हिस्सा उल्लेख्य रहेको छ ।
यद्यपि, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशिने रकम १.७ प्रतिशतले घटेको छ । गत वर्ष सोही अवधिमा १ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बाहिरिएको थियो । त्यतिबेला पनि विद्यार्थीमार्फत ८८ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको थियो ।
विदेश यात्रा खर्चमा सामान्य गिरावट आए पनि अध्ययनका लागि बाहिरिने रकम उच्च रहँदा देशको विदेशी मुद्रा बाहिरिने दबाब कायम रहेको देखिन्छ ।