रास्वपाका डोलप्रसाद अर्याल सभामुखको बलियो उम्मेदवार, आज मनोनयन दर्ता हुँदै
काठमाडौँ — संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ। सचिवालयद्वारा सार्वजनिक गरिएको कार्यतालिका अनुसार आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम ज्येष्ठ सदस्यले निर्धारण गरेको तालिका अनुसार आगामी चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन सम्पन्न हुनेछ।
सचिवालयका अनुसार आज दिउँसो २:३० बजे उम्मेदवारको नामावली औपचारिक रूपमा प्रकाशन गरिनेछ। यदि एकभन्दा बढी उम्मेदवारी परेको खण्डमा मात्रै आइतबारको बैठकमा मतदान प्रक्रिया अगाडि बढ्नेछ। यद्यपि, वर्तमान राजनीतिक समीकरण र संसदको गणित हेर्दा प्रतिस्पर्धाको सम्भावना न्यून देखिएको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई उम्मेदवार बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। वर्तमान प्रतिनिधि सभामा रास्वपाको स्पष्ट बहुमत रहेको र १८२ जना सांसदको समर्थन रहेका कारण अर्यालको चयन लगभग निश्चित मानिएको छ।
काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित अर्याल पार्टीभित्र एक परिपक्व नेताका रूपमा चिनिन्छन्। पार्टी सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा हिरासत तथा पुर्पक्षका लागि थुनामा रहेको कठिन समयमा अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी समेत सम्हालेका थिए। संसदीय अभ्यासमा अनुभवी मानिने अर्यालको उम्मेदवारीलाई सत्ता गठबन्धनभित्र पनि अर्थपूर्ण रूपमा हेरिएको छ। निर्वाचन तालिका अनुसार आइतबार हुने मतदानले अर्याललाई संघीय संसद्को नेतृत्वदायी भूमिकामा पुर्याउने निश्चित प्रायः छ।