भारतको अनुदानमा सात सामुदायिक विकास परियोजना, ४७ करोडभन्दा बढी लगानी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालका लागि भारतीय राजदूतावासबिच सातवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालका लागि भारतीय राजदूतावासबिच सातवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर गरिएका परियोजनाहरूमा नवलपुरको मध्यबिन्दु नगरपालिका–२ र तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा कोल्ड स्टोर निर्माण, मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित जनबल माध्यमिक विद्यालयमा विद्यालय भवन, छात्रावास र क्यान्टिन निर्माण, कैलालीको गौरीगंगा नगरपालिका–११ मा श्रीकालिका आधारभूत विद्यालय भवन निर्माण रहेका छन् । 

त्यस्तै, रौतहटको परोहा नगरपालिका–४ मा बर्थिङ सेन्टर निर्माण, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा श्री कस्तुरी माध्यमिक विद्यालय भवन निर्माण तथा बाँकेको खजुरा गाउँपालिका–४ मा श्रीजनकल्याण माध्यमिक विद्यालय भवन निर्माण रहेका छन् । यी सबै परियोजना स्थानीय तह तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ । 

भारत सरकारको अनुदान सहयोगअन्तर्गत शिक्षा, स्वास्थ्य र कृषि लगायत क्षेत्रमा सञ्चालन हुने यी परियोजनाहरूको कुल अनुमानित लागत ४७ करोड ३० लाख रूपैयाँ रहेको रहेको भारतीय दूतावासले जनाएको छ ।