प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने : भ्रष्टाचारको सबै फाइल खोल्नुस्
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अघिल्लो सरकारले बहुमत दम्भ देखाउँदा अहिलेको परिस्थिति आएको बताए ।
काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अघिल्लो सरकारले बहुमत दम्भ देखाउँदा अहिलेको परिस्थिति आएको बताए । उनले भने, ‘जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस् । विगतका कमजोरीहरू नदोहोरियोस्। विधिको शासनमा अडिग शासन सञ्चालन होस् ।’
उनले अहिलेको सरकार जनताको आशा र भरोसाको दियो रहेको समेत बताए । उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारको सबै फाइल खोल्ने विश्वास व्यक्त गरे ।
सांसद शाहीले नेपाल कुनै दल वा नेताले नभई राजसंस्था र जनताले मिलेर बनाएको देश भएको दाबी गरे। 'यो देश कांग्रेस, एमाले, रास्वपा वा माओवादीले बनाएको होइन । यो देश राजसंस्था र जनताले बनाएको हो,' उनले भने, 'त्यसैले संवैधानिक राजसंस्थाको पुनर्विचार गर्न गम्भीर विमर्श सुरु गरियोस् ।'
उनले देशमा ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किराँत गरी ९३ प्रतिशतभन्दा बढी ॐकार परिवार रहेको तथ्यांक प्रस्तुत गर्दै नेपाललाई धर्मनिरपेक्ष राष्ट्रबाट धर्मसापेक्ष 'हिन्दु अधिराज्य' घोषणा गर्न माग गरे ।