नयाँ प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु, यस्तो छ सदनको अंकगणित र कार्यसूची

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि आजदेखि पहिलो अधिवेशनको प्रारम्भ हुँदैछ । सिंहदरबारभित्र नवनिर्मित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही चैत १६ गते दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायतका सम्पूर्ण तयारीहरू पूरा भइसकेका छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक भने संसद् सचिवालयस्थित आफ्नै नियमित कक्षमा बस्ने तय भएको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ । सोही बमोजिम निर्वाचन आयोगले चैत ५ गते 'प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२' को प्रतिवेदन बुझाएपछि यो प्रक्रिया अघि बढेको हो । हालको २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको १८२ सिटसहित भारी बहुमत रहेको छ भने नेपाली काँग्रेसको ३८, नेकपा एमालेको २५, नेकपाको १७, श्रम संस्कृति पार्टीको ७, राप्रपाको ५ र एक जना स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले पहिलो बैठकका लागि सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आठवटा मुख्य एजेन्डाहरू समावेश गरिएका छन् । बैठकको सुरुवातमा ज्येष्ठ सदस्य वा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ । त्यसलगत्तै बैठकमा प्रधानमन्त्रीको नियुक्ति र नयाँ मन्त्रिपरिषद् गठनका बारेमा आधिकारिक जानकारी गराइने कार्यतालिका तय भएको छ ।