सर्वसाधारणका लागि वैशाख २ देखि सोपान फर्मास्यूटिकल्सको आईपीओ खुल्ने
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन वैशाख ६ गतेसम्म खुला रहनेछ ।
काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले वैशाख २ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारणका लागि ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको कम्पनीले ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीका लागि र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइसकेको छ ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन वैशाख ६ गतेसम्म खुला रहनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख १६ गतेसम्म अवधि थपिनेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत सि-आस्बा प्रणाली वा मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
आईपीओका लागि केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।