ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपालको बैंकिङ्ग क्षेत्रमा नवीन प्रविधिको प्रवर्द्धन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ को दोस्रो संस्करण आयोजना गर्ने घोषणा गरेको छ। गत वर्ष नेपालकै बैंकिङ्ग इतिहासमा पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङमा आधारित ह्याकाथन सफलतापूर्वक सम्पन्न गरेको बैंकले यस वर्ष पनि त्यसैको निरन्तरता स्वरूप आगामी सन् २०२६ को मे २९ देखि ३१ सम्म यो प्रतिस्पर्धा सञ्चालन गर्न लागेको हो। प्रविधिमा आधारित आधुनिक बैंकिङ्ग सेवाको विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको यस कार्यक्रमले प्रविधि क्षेत्रका दक्ष जनशक्तिलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्ने बैंकको विश्वास छ।
यस विशिष्ट प्रतिस्पर्धामा सहभागी हुनका लागि प्रविधिमा विशेष रुचि राख्ने विद्यार्थी, स्टार्टअप कम्पनी, सफ्टवेयर डेभलपर, इन्जिनियर, डाटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका अन्य पेशेवरहरूका लागि आवेदन खुला गरिएको छ। इच्छुक प्रतिस्पर्धीहरूले सन् २०२६ मे ४ सम्म बैंकको आधिकारिक वेबसाइटमार्फत आफ्नो आवेदन दर्ता गराउन सक्नेछन्। अघिल्लो संस्करणमा विभिन्न विधाका विज्ञ तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेका कारण बैंकले यस वर्ष थप परिष्कृत रूपमा यो कार्यक्रमलाई अगाडि बढाएको हो। ह्याकाथनले नवीनतम प्रविधिको प्रयोगमार्फत बैंकिङ्ग सेवामा देखिने सम्भावित चुनौतीहरूको समाधान खोज्न र डिजिटल बैंकिङ्गलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यस पटकको ह्याकाथनमा सहभागीहरूले बैंकद्वारा निर्धारित विभिन्न प्राविधिक विषयहरूमा केन्द्रित रहेर आफ्ना नवीन अवधारणा र समाधानहरू प्रस्तुत गर्नुपर्नेछ। जसमा 'द अटोनोमस क्रेडिट एण्ड लेन्डिङ अर्केस्ट्रेटर', 'एजेन्टिक फ्रड डिटेक्सन', 'द मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ्ग एसिस्टेन्ट' र 'सेन्टिनेल्स अफ द नेटवर्क: एआई ड्रिभन इन्ट्रुजन डिटेक्सन सिस्टम' जस्ता गहन प्राविधिक क्षेत्रहरू समावेश गरिएका छन्। प्रतिस्पर्धामा उत्कृष्ट ठहरिने टोलीलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनुका साथै उनीहरूलाई बैंकसँग प्रत्यक्ष सहकार्य गर्ने दुर्लभ र महत्वपूर्ण अवसर समेत उपलब्ध गराइनेछ। बैंकले यस प्रक्रियामार्फत प्रविधिमैत्री वित्तीय सेवाहरूको प्रवर्द्धन गर्दै नेपालको डिजिटल बैंकिङ्गको भविष्यलाई थप सुरक्षित र सुलभ बनाउने लक्ष्य लिएको छ।
उल्लेखनीय छ कि ग्लोबल आइएमई बैंक आफ्नो उत्कृष्ट सेवा र कार्यसम्पादनका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित भइसकेको संस्था हो। बैंकले विगतमा 'बैंक अफ द इयर २०१४', 'बेस्ट इन्टरनेट बैंक २०१६', 'बेस्ट बैंक नेपाल' (२०२४ र २०२५), तथा 'युरो मनी अवार्ड फर एक्सीलेन्स' (२०२२, २०२४ र २०२५) जस्ता सम्मान प्राप्त गरिसकेको छ। यस्तै 'बेस्ट बैंक ईएसजी नेपाल २०२४' र 'बेस्ट इम्प्लोयर' जस्ता पुरस्कारले पनि यसको गरिमा बढाएका छन्। मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा यसले ३५२ शाखा, ३७९ एटीएम, १७४ शाखारहित बैंकिङ्ग सेवा र ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर सहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ। स्वदेशमा मात्र नभई अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान र खाडी मुलुकहरू लगायत विश्वका विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउँदै बैंकले मुलुकको अर्थतन्त्रमा समेत विशिष्ट योगदान पुर्याइरहेको छ।