बेटिङ एप र अवैध वेबसाइटमा विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी
काठमाडौँ — नेपाल सरकारको विज्ञापन बोर्डले प्रचलित कानुनविपरीत सञ्चालनमा रहेका अनधिकृत वेबसाइट, बेटिङ एप तथा सामाजिक सञ्जालमा कुनै पनि प्रकारका विज्ञापन प्रकाशन वा प्रसारण नगर्न सरोकारवालाहरूलाई कडा निर्देशन दिएको छ। जुवा तथा अवैध चिठ्ठाजन्य गतिविधिलाई प्रश्रय दिने यस्ता प्लेटफर्महरूमा विज्ञापन गर्नु प्रचलित कानुनको बर्खिलाप हुने भन्दै बोर्डले यस्तो चेतावनी जारी गरेको हो।
गत चैत १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकभित्र सञ्चालित सबै प्रकारका बेटिङ एप तथा वेबसाइटहरू बन्द गर्ने महत्त्वपूर्ण निर्णय गरिसकेको पृष्ठभूमिमा बोर्डले यो कदम चालेको हो। विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार, गैरकानुनी रूपमा विज्ञापन प्रदर्शन वा प्रसारण भइरहेको पाइएमा त्यस्ता गतिविधि तत्काल बन्द गर्न अनुरोध गरिएको छ। सरकारले प्रतिबन्ध लगाएका र कानुनी दायरा बाहिर रहेका माध्यमहरूमा विज्ञापन गरेको भेटिएमा विज्ञापन ऐन, २०७६ बमोजिम कडा कानुनी कारबाही गरिने बोर्डले प्रस्ट पारेको छ।
विशेष गरी विज्ञापन ऐन, २०७६ को दफा ५ ले जुवा खेल्न वा खेलाउन प्रोत्साहन गर्ने तथा अनुमति नलिई चिठ्ठा किन्न वा किनाउन उत्प्रेरित गर्ने विषयमा विज्ञापन गर्न पूर्णतः निषेध गरेको छ। बोर्डले यस कानुनी प्रावधानको स्मरण गराउँदै कानुनी मर्यादाभित्र रहेर मात्र सञ्चार तथा विज्ञापनका गतिविधि सञ्चालन गर्न सबैमा आग्रह गरेको छ। साथै, कतै यस्ता अवैध विज्ञापनहरू भइरहेको पाइएमा यथाशीघ्र बोर्डमा उजुरी दिन समेत सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आह्वान गरिएको छ।