काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी रिजाल पक्राउ

काठमाडौँ — जेनजी आन्दोलनका क्रममा भएको दमन र प्रशासनिक भूमिकाबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिस बमोजिम काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन्। मंगलबार बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले रिजाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका समयमा रिजाल काठमाडौँको प्रशासनिक कमाण्ड सम्हालिरहेका थिए। आन्दोलनका क्रममा भएका घटना र सुरक्षा कमजोरीबारे छानबिन गर्न बनेको आयोगले कर्मचारी र सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउँदै कारबाहीको सिफारिस गरेको थियो। सोही प्रतिवेदनको कार्यान्वयनका क्रममा प्रहरीले रिजाललाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको हो।

यस प्रकरणमा अनुसन्धानको दायरा निकै माथिल्लो तहसम्म पुगेको छ। यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पृष्ठभूमिमा पूर्व सिडिओ रिजालको गिरफ्तारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रहरीले रिजाललाई अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिरहेको छ।