संकटमा नेपाली अर्थतन्त्र र श्रमिकको भविष्य

काठमाडौँ- पश्चिम एसियामा चुलिँदो सैन्य तनाव र युद्धको बढ्दो शृङ्खलाले नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स आप्रवाहमा गम्भीर धक्का पुग्ने देखिएको छ। खाडी क्षेत्रका प्रमुख श्रम गन्तव्यहरू कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स र ओमानमा सुरक्षा व्यवस्था खलबलिँदा त्यसको सिधा असर पर्यटन, द्विपक्षीय व्यापार र वैदेशिक रोजगारीमा पर्न थालेको छ। पछिल्लो समय अमेरिका र इजरायलको रणनीतिक दबाबबीच इरानले चालेका प्रत्याक्रमणका कदमहरूले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा मात्र नभई समग्र नागरिक जीवन र व्यावसायिक वातावरणलाई समेत त्रसित बनाएको छ।

यस भूराजनीतिक द्वन्द्वले विशेष गरी वैदेशिक रोजगारीमा रहेका करिब १९ लाख नेपाली श्रमिकहरूको सुरक्षा र जीविकोपार्जनमा ठुलो जोखिम निम्त्याएको छ। तथ्याङ्क अनुसार नेपालबाट वार्षिक रूपमा श्रम स्वीकृति लिएर बाहिरिने करिब ७ लाख नेपालीमध्ये झन्डै ६५ प्रतिशत अर्थात् साढे चार लाख नेपालीको मुख्य गन्तव्य खाडी मुलुकहरू नै हुन्। इरान र इजरायलबीचको प्रत्यक्ष टकराव र दिनहुँ हुने मिसाइल तथा ड्रोन आक्रमणका कारण नेपाली श्रमिकहरूले कार्यथलोमै असुरक्षा महसुस गरिरहेका छन्।

युद्धको यो रापले केवल आर्थिक क्षति मात्र नभई मानवीय क्षति समेत निम्त्याउन सुरु गरिसकेको छ। हालसम्मको विवरण अनुसार इरानी हमलामा परेर एक जना नेपाली श्रमिकको मृत्यु भइसकेको छ भने २० जना घाइते भएका छन्। कार्यस्थलमा हुने निरन्तरको आक्रमण र असुरक्षित वातावरणका कारण कतिपय श्रमिकहरू स्वदेश फर्कने तयारीमा छन् भने कतिपयको रोजगारी गुम्ने खतरा बढेको छ। कुल रेमिट्यान्सको झन्डै आधा हिस्सा ओगट्ने यी मुलुकहरूमा आर्थिक गतिविधि सुस्त हुनु वा रोजगारीका अवसरहरू खुम्चिनु नेपालको समग्र राष्ट्रिय अर्थतन्त्रका लागि चुनौतीपूर्ण सङ्केत हो। आगामी दिनमा यो द्वन्द्व थप लम्बिँदै गएमा नेपालले विदेशी मुद्रा सञ्चिति र उपभोग्य बजारमा समेत ठुलो संकुचन बेहोर्नुपर्ने जोखिम प्रस्ट देखिएको छ।