सम्पत्ति शुद्धीकरणको हिरासतमा रहेका पूर्वमन्त्री खड्का अस्पताल भर्ना

काठमाडौँ — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएका छन्। सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका खड्कालाई गएराति स्वास्थ्यमा जटिलता देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

अदालतबाट सात दिनको म्याद थप गरी उनलाई ललितपुरको पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा राखिएको थियो। अनुसन्धान अधिकारीका अनुसार आइतबार राति करिब साढे १२ बजेतिर खड्कालाई निरन्तर बान्ता हुने समस्या देखिएपछि तत्काल उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएको थियो। नर्भिक अस्पतालले थप उपचारका लागि शिक्षण अस्पतालमा 'रिफर' गरेपछि उनलाई राति नै त्यसतर्फ लगिएको विभागले जनाएको छ।

हाल शिक्षण अस्पतालमा चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको छ। विभागले खड्का विरुद्ध अस्वभाविक रूपमा सम्पत्ति आर्जन गरेको र स्रोत नखुलेको धन लुकाएको अभियोगमा विस्तृत अनुसन्धान गरिरहेको छ।