सुनको मूल्यमा भारी गिरावट, एकैदिन २५ सय रुपैयाँले घट्यो
काठमाडौं – नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेको हो।
मूल्यमा आएको यो ठुलो गिरावटका कारण आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो केही समययता निरन्तर उतारचढाव भइरहेको सुनको मूल्यमा आजको गिरावटलाई व्यवसायीहरूले विशेष चासोका साथ हेरेका छन्।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार अघिल्लो दिन प्रतितोला चार हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।