अस्पतालबाटै ओलीको भर्चुअल बयानको तयारी, लेखक अदालतमा उपस्थित
काठमाडौँ | नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य अवस्थाका कारण अस्पतालबाटै भर्चुअल माध्यममार्फत अदालत उपस्थित गराइने भएको छ। मुटुको चालमा अनियमिता देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
शनिबार बिहान पक्राउ परेका ओलीलाई हिरासतमा राख्ने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको मुटुको धडकनमा समस्या देखिएकाले चिकित्सकहरूले तत्काल डिस्चार्ज गर्न वा भौतिक रूपमा अदालत लैजान अनुमति दिएका छैनन्।
यसै कारण, काठमाडौँ जिल्ला अदालतले प्रविधिको प्रयोग गरी अस्पतालको बेडबाटै ओलीको भर्चुअल उपस्थिति र बयान लिने तयारी गरेको छ।
यता, सोही मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भने आइतबार बिहानै काठमाडौँ जिल्ला अदालतमा भौतिक रूपमा उपस्थित गराइएको छ। उनलाई कडा सुरक्षाका बीच म्याद थपका लागि न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा पेश गरिएको छ।
दुवै नेताहरूमाथि ज्यानसम्बन्धी मुद्दा लगाइएको छ। यो संवेदनशील मुद्दाको सुनुवाइ न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा तोकिएको छ। रमेश लेखकको हकमा म्याद थपको बहस भइरहँदा ओलीको हकमा भने अस्पतालको रिपोर्ट र चिकित्सकको सल्लाह पर्खिएको छ।
"ओलीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै भर्चुअल उपस्थिति नै उत्तम विकल्प देखिएको छ," सुरक्षा स्रोतले जानकारी दियो।