कार्की आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया सुरु
काठमाडौं। गत भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तयार पारिएको उक्त प्रतिवेदन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय हुँदै कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको हो।
सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सुरक्षा संयन्त्र र राजनीतिक वृत्तमा हलचल पैदा भएको छ।
प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय पठाइएको थियो। गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय (रानीपोखरी) मार्फत उक्त दस्तावेज जिल्ला प्रहरी परिसर, काठमाडौंमा आइपुगेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले प्रतिवेदन प्राप्त भएको पुष्टि गर्दै अब कानुनी प्रक्रिया अगाडि बढ्ने जानकारी दिएका छन्। उनले भने, "हामी कहाँ प्रतिवेदन आइपुगेको छ, अब हामी यसको कार्यान्वयनको चरणमा जान्छौं।"
प्रतिवेदनमा उल्लेखित सिफारिसका आधारमा शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ। कार्की आयोगले 'जनेजी आन्दोलन'का क्रममा भएको हत्याको घटनामा उनीहरूको संलग्नता रहेको ठहर गर्दै ज्यान सम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो।
यस घटनामा संलग्न भनिएका अन्य सुरक्षा अधिकारी र संयन्त्रको हकमा भने थप छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।