अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्ले को हुन् ?
आर्थिक कूटनीति, विकास नीति र अन्तर्राष्ट्रिय अनुभवको संयोजन बोकेका वाग्लेको अर्थमन्त्री नियुक्तिलाई नेपालको आर्थिक सुधार र नीतिगत स्थिरताका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
काठमाडौं । तनहुँ–१ बाट निर्वाचित अर्थविद् स्वर्णिम वाग्ले बालेन नेतृत्वको सरकारमा अर्थमन्त्री नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका वाग्ले नीति निर्माण र आर्थिक व्यवस्थापनमा प्रभावशाली व्यक्तिका रूपमा चिनिन्छन् ।
लामो समय नेपाली कांग्रेससँग नजिक रहेका वाग्ले २०७९ चैतमा रास्वपामा प्रवेश गरेका थिए । साधारण सदस्यबाट यात्रा सुरु गरेका उनलाई पार्टी सभापति रवि लामिछानेले जलेश्वर बैठकमार्फत उपसभापतिको जिम्मेवारी दिएका थिए । पार्टीको अर्थ नीति विभाग प्रमुखसमेत रहेका उनले रास्वपाको चुनावी वाचापत्र निर्माणको नेतृत्व गरेका थिए ।
गोरखाको बुंकोटमा २०३१ सालमा जन्मिएका वाग्ले चितवनमा हुर्किएका हुन् । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएको तनहुँ–१ मा भएको उपनिर्वाचनमा उनले कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गर्दै पहिलोपटक संसद प्रवेश गरेका थिए । त्यसपछि २०८२ फागुन २१ को निर्वाचनमा पनि सोही क्षेत्रबाट पुनः निर्वाचित भएका हुन् ।
अन्तर्राष्ट्रिय स्तरका अर्थविद् वाग्लेले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)मा एशिया–प्रशान्त क्षेत्रका मुख्य आर्थिक सल्लाहकारका रूपमा काम गरेका छन्, जहाँ उनले ३६ देशको जिम्मेवारी सम्हालेका थिए । साथै विश्व बैंक र विभिन्न अन्तर्राष्ट्रिय संस्थामा वरिष्ठ अर्थशास्त्रीको अनुभवसमेत उनीसँग छ । नेपाल फर्किएपछि उनले राष्ट्रिय योजना आयोगमा सदस्य र उपाध्यक्षका रूपमा काम गर्दै विकास रणनीति निर्माण, नीतिगत समन्वय र पुनर्निर्माण पहलमा नेतृत्व गरेका थिए ।
२५ वर्षभन्दा बढी अन्तर्राष्ट्रिय विकास क्षेत्रमा सक्रिय वाग्लेले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पीएचडी, हार्वर्ड युनिभर्सिटीबाट स्नातकोत्तर र लन्डन स्कूल अफ इकोनोमिक्सबाट स्नातक गरेका छन् । साथै उनी एकीकृत विकास अध्ययन संस्था (आईआईडीएस)का अध्यक्षसमेत रहिसकेका छन् ।
आर्थिक कूटनीति, विकास नीति र अन्तर्राष्ट्रिय अनुभवको संयोजन बोकेका वाग्लेको अर्थमन्त्री नियुक्तिलाई नेपालको आर्थिक सुधार र नीतिगत स्थिरताका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।