सञ्चय कोषद्वारा सञ्चय र योगदानकर्तालाई पाँच अर्ब ३० करोड मुनाफा वितरण

सञ्चय कोष सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौज्दात रकममा १ प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरे बमोजिमको मुनाफा सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा जम्मा गरिएको हो ।

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई पाँच अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ । जसअनुसार, कोषका सञ्चयकर्ताको खातामा करिब पाँच अर्ब १९ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब १० करोड ५५ लाख मुनाफा जम्मा गरिएको छ । कर्मचारी सञ्चय कोष सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौज्दात रकममा १ प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरे बमोजिमको मुनाफा सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा जम्मा गरिएको हो ।

कोषले प्रत्येक आर्थिक वर्षको कूल मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्ताको व्यक्तिगत खातामा जम्मा गर्ने र बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषहरूमा राख्ने नीति लिएको छ । हाल कोषले सञ्चयकर्तालाई ८।२५ प्रतिशतका दरले ब्याज प्रदान गरिरहेको छ। यसमा १ प्रतिशत मुनाफासमेत जोड्दा सञ्चयकर्ताले जम्मा ९.२५ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।

अर्कोतर्फ, कोषले सञ्चित रकमको ९० प्रतिशतसम्म दिने विशेष सापटीमा ८.७५ प्रतिशत मात्र ब्याज लिने गरेको छ । यसले गर्दा सञ्चयकर्ताले प्राप्त गर्ने प्रतिफलभन्दा तिर्नुपर्ने ब्याज ०.५० प्रतिशतले मात्र बढी पर्न जाने कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले जानकारी दिएका छन् । कोषले विशेष सापटीका अलावा घर सापटी, शैक्षिक सापटी, घर मर्मत, सरल सापटी र जग्गा खरिद सापटीसमेत उपलब्ध गराउँदै आएको छ । कोषले सञ्चयकर्ताबाट छुट्टै कुनै योगदान नलिई आफ्नै स्रोतबाट विभिन्न सामाजिक सुरक्षा सुविधाहरू समेत प्रदान गर्दै आएको छ ।