कोशी प्रदेशमा बर्डफ्लु फैलियो, ६० हजारभन्दा बढी कुखुरा नष्ट
मङ्गलबार सम्ममा यी तीन जिल्लाका विभिन्न १२ कुखुरा फार्ममा बर्डफ्लु संक्रमित ६० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ । प्रयोगशालाका अनुसार संक्रमण देखिएको क्षेत्रलाई सिल गरिएको छ भने संक्रमित फार्मका सबै कुखुरा, अण्डा, दाना र अन्य सामग्री नष्ट गर्ने काम भइरहेको छ ।
विराटनगर । कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा कुखुरामा लाग्ने घातक बर्डफ्लु संक्रमण फैलिएको छ । संक्रमण फैलिँदा कुखुरापालक व्यवसायी ठुलो नोक्सानी भोग्न बाध्य भएका छन् । मङ्गलबारसम्ममा यी तीन जिल्लाका विभिन्न १२ कुखुरा फार्ममा बर्डफ्लु संक्रमित ६० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ ।
मोरङको विराटनगर, सुन्दरहरैंचा, उर्लाबारी र कटहरी, सुनसरीको इटहरी र गढी तथा झापाको दमकसहित आसपासको क्षेत्रमा बर्डफ्लु संक्रमण फैलिएको छ । त्यस क्षेत्रमा हालसम्म ६० हजारभन्दा बढी कुखुरा र ५० हजारभन्दा बढी अण्डा नष्ट गरिएको छ । प्रयोगशालाका अनुसार संक्रमण देखिएको क्षेत्रलाई सिल गरिएको छ भने संक्रमित फार्मका सबै कुखुरा, अण्डा, दाना र अन्य सामग्री नष्ट गर्ने काम भइरहेको छ । सङ्क्रमण फैलिएपछि स्थानीय तहहरूले ‘हाइ अलर्ट’ जारी गरेका छन् । उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल र सुन्दरहरैंचाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले छुट्टाछुट्टै सूचना जारी गर्दै सङ्क्रमण प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, मासु, दाना र उपकरण ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएका छन् । नगरपालिकाले फार्म वरपरका कुखुरामा समान लक्षण देखिए तुरुन्त जानकारी दिन, फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्न र जैविक सुरक्षाका उपायहरू जस्तै– चुना, फिनेल र सेनिटाइजरको प्रयोग गर्न निर्देशन दिएको छ ।
नेपालमा पहिलो पटक २०६५ माघमा झापाकै काँकडभिट्टाबाट बर्डफ्लु भित्रिएको थियो । त्यसबेला २८ हजार कुखुरा नष्ट गरिएको इतिहास छ । त्यसयता पटक–पटक देखिने यो सङ्क्रमण चार वर्षपछि फेरि कोशी प्रदेशमा उग्र रूपमा देखा परेको हो ।