८ महिनामा ६४ सय ईभी भित्रिए, ९ अर्ब राजस्व संकलन
चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिना (साउन-फागुन) मा ६ हजार ४०० वटा विद्युतीय गाडी (कार, जीप भ्यान) भित्रिएका छन् । उक्त सख्यामा गाडी आयात हुँदा ९ अर्ब ११ करोड रुपैयाँ राजस्व उठेको भन्सार विभागले जनाएको छ ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिना (साउन-फागुन) मा ६ हजार ४०० वटा विद्युतीय गाडी (कार, जीप भ्यान) भित्रिएका छन् । उक्त सख्यामा गाडी आयात हुँदा ९ अर्ब ११ करोड रुपैयाँ राजस्व उठेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार यस अवधिमा ८ देशबाट नेपालमा उक्त मात्रामा ईभी आयात भएका हुन् । उक्त ईभी आयात गर्दा १४ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको छ ।
यो अवधिमा सबैभन्दा धेरै ईभी चिनबाट भित्रिएका छन् । विभागका अनुसार यो अवधिमा चिनबाट १० अर्ब ३० करोड रुपैयाँ बराबरको ४ हजार ३९९ वटा ईभी भित्रिएका छन् । जसमा ५० किलोवाट सम्मका १ हजार ३१३ वटा, ५१ देखि १०० किलोवाट सम्मका २ हजार ६१४ वटा, १०१ देखि २०० सम्मका ४६८ वटा र २०१ देखि ३०० किलोवाट सम्मका ४ वटा ईभी चिनबाट नेपाल आएका हुन् । यस्तै, भारतबाट ३ अर्ब २५ करोड रुपैयाँ बराबरको १ हजार ५३३ वटा ईभी आएका हुन् । ईभी आयातमा भारतको हिस्सा २३ प्रतिशत रहेको छ । भारतबाट ५० किलोवाट सम्मका तर एसेम्बल नभएका २ वटा, ५० किलोवाटसम्मका एसेम्बल भएका ८८५ वटा, ५१ देखि १०० किलोवाट सम्मका ६१७ वटा १०१ देखि २०० किलोवाट सम्मका २९ वटा ईभी आयात भएका छन् ।
त्यसैगरी, थाइल्याण्डबाट ४४० वटा, अमेरिकाबाट १२ वटा, जर्मनीबाट १०, दक्षिण कोरियाबाट २ र अस्ट्रेलियाबाट १ वटा र बेलायतबाट १ वटा ईभी नेपाल भित्रिएको छ ।