निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने कर्मचारी र सुरक्षा अधिकारीहरूलाई गृहमन्त्री अर्यालको सम्मान
प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेका कर्मचारी र सुरक्षा निकायका अधिकारीहरूलाई गृहमन्त्री ओमप्रकाश अर्यालले सम्मान गरेका छन् ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेका कर्मचारी र सुरक्षा निकायका अधिकारीहरूलाई गृहमन्त्री ओमप्रकाश अर्यालले सम्मान गरेका छन् । सोमबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले विभिन्न निकायका उच्च अधिकारीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान व्यक्त गरेका हुन् । सम्मानित हुनेमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत काठमाडौं उपत्यकाका जिल्ला सुरक्षा समितिका पदाधिकारी रहेका छन् ।
यस अवसरमा मन्त्री अर्यालले गत फागुन २१ मा सम्पन्न निर्वाचन शान्तिपूर्ण र सफल रूपमा सम्पन्न भएको उल्लेख गर्दै यसमा सबै सरोकारवालाको महत्वपूर्ण योगदान रहेको बताए । उनले रक्तपातबिनै एकै चरणमा निर्वाचन सम्पन्न हुनु नयाँ मानकका रूपमा स्थापित भएको उल्लेख गरेका थिए । उनले सामूहिक नेतृत्व, समन्वय र जिम्मेवार भूमिकाका कारण सकारात्मक परिणाम प्राप्त भएको भन्दै आगामी दिनमा पनि यस्तो अभ्यासलाई निरन्तरता दिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै सम्बन्धित अधिकारीहरूले पनि निर्वाचन अवधिभर देखिएको सहकार्य र समन्वय नै सफलताको मुख्य कारण भएको बताएका छन् ।